रोशनी झा मृत्यु प्रकरण: दोषीलाई कारवाहीको माग राख्दै धर्ना

२०८२ मंसिर १८, बिहीबार २०:५६

सर्लाही – जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईतीपक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।

रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा.धिरज झा, र प्रमाणनष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिकझालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताईन ।

एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका – ४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी थिईन । रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरे पनि माइतीपक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् ।

हाल मधेश प्रदेश सरकारको नीति तथा योजनाआयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्ष अघि सामाजिक रीति रिवाज अनुसार रोशनीसँग विवाह भएको थियो । माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । उजुरी दर्ता भएपछि प्रहरीले गतआइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएका छन् । धनुषा प्रहरीले घटनास्थलको पुनःअनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार