मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

२०८२ मंसिर १९, शुक्रबार ०७:४५

सर्लाही – मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।

एमाले बाहेकका सात दल अहिले आन्तरिक छलफलमा व्यस्त छन्। संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन जुटाएर बहुमत देखाउनुपर्ने हुन्छ।

यसअघि धारा १६८(३) अन्तर्गत ठूलो दलको हैसियतमा एमालेले सरकार बनाएको थियो। सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत नलिएपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ दाबी पेश गर्न आह्वान गरेका थिए।

२४ कात्तिकमा बर्दिबासको पानस होटलमा शपथ लिएका यादव विवादमा तानिएका थिए। सर्वोच्चले २४ घन्टाभित्र विश्वासको मत लिनु भन्ने आदेश दिए पनि उनले पेश गर्न नसक्दा १७ मंसिरमा पदबाट राजीनामा दिए। त्यसपछि सोही दिन नयाँ सरकार बनाउँन दाबी माग गरिएको हो।

बिहीबार एमाले बाहेकका सात दल ( नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी ) बीच करिब आठ घण्टा लामो छलफल भयो।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार नयाँ मुख्यमन्त्रीको विषयमा सहमति भइसकेको र आज दिउँसो २ बजे नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिने तयारी छ। उनका अनुसार सात दलकै सहमतिमा सरकारले पूर्णता पाउनेछ र मुख्यमन्त्रीसँगै सबै मन्त्रीले एकैपटक शपथ लिनेछन्।

तर छलफलमा सहभागी एक सांसदले भने नाम आज फेरि बैठक बसेर मात्रै अन्तिम गर्ने सहमति भएको बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार