मलंगवा – सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्। जिल्लाको ब्रह्मपुरी गाउँपालिका – ४, त्रिभुवननगरबाट आज दिउँसो स्रोत नखुलेको १२ लाख २९ हजारसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत – २ का २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। त्रिभुवननगर प्रहरी चौकीको पछाडिको मार्ग हुँदै बीआर – ३० – वाई – ३२८७ नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एक हजार दरका ८ लाख १४ हजार, ५०० दरका ३ लाख ३५ हजार ५ सय, १०० दरका ७१ हजार २ सय र ५० दरका ८ हजार ३ सयसहित कुल १२ लाख २९ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।





