मलंगवाको नयाँ बसपार्क पुस १ गतेदेखि सञ्चालनमा आउने

२०८२ मंसिर २२, सोमबार १८:०८

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – २ मा निर्माण भएको नयाँ बसपार्क पुस १ गतेदेखि सञ्चालनमा आउने भएको छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा आईतबार बसेको बैठकले जिल्लामा बसपार्क सञ्चालन, यातायात व्यवस्थापन, सुरक्षा र लागुऔषध नियन्त्रण, ध्वनि प्रदूषण नियन्त्रण लगायत विभिन्न विषयमा छलफल गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जानकारी दिएको छ।

करिब छ करोड लागतमा निर्माण भएको नयाँ बसपार्क लामो समयदेखि तयार भए पनि सञ्चालनमा आउन सकेको थिएन। हाल मलंगवा नगरपालिका–२ मा रहेको कृषि विकास बैंकको जग्गामा अवस्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ।

बैठकमा यातायात व्यवसायीहरूसँग समन्वय गरेर नयाँ बसपार्क सञ्चालन गर्ने, म्याजिक, टेम्पु लगायतका सवारी साधनको लागि उपयुक्त स्थान तोक्ने र ट्राफिक प्रहरीसँग मिलेर रुट निर्धारण गर्ने निर्णय गरिएको छ।

सुरक्षा र लागुऔषध नियन्त्रणसम्बन्धी पनि कदम चालिने निर्णय भएको छ। सीमा नाकामा कडाइ गरिने, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालासँग सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

त्यसैगरी, धार्मिक र सांस्कृतिक कार्यक्रममा बजाइने डिजे र माइकले हुने ध्वनि प्रदूषण नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेट भएका सवारी साधनहरूको अभिलेखीकरण अनिवार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारीले बताए।

तर, यसअघिका यस्ता निर्णयहरू कार्यान्वयन हुन नसकेको भएकाले यसपटकको पहललाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सक्रियता आवश्यक हुने स्थानीय प्रशासनको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार