सर्लाही – संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार अशोक धामीको कप्तानीमा नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री सहितको १५ सदस्यीय टोली घोषणाा गरेको हो ।

प्रतियोगिता मंसिर २६ देखि पुस ६ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा सञ्चालन हुनेछ। समूह चरणमा नेपालले पहिलो खेल मंसिर २७ मा श्रीलंका, दोस्रो खेल मंसिर २९ मा बंगलादेश र तेस्रो खेल पुस २ मा अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ।
यस संस्करणको यू–१९ एसिया कपमा आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया परेका छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। प्रतियोगिताका सबै खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा आयोजना गरिने छन्।





