कांग्रेस सर्लाही: क्षेत्र नं. १ र २ मा निर्णय हुन सकेन, ४ बाट गगन थापा र बिरेन्द्र सिंहको नाम सिफारिस

२०८२ मंसिर २३, मंगलवार २१:०८

मलंगवा – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा जुटेको नेपाली कांग्रेस सर्लाहीले आज क्षेत्र नं. १, २ र ४ मा छुट्टाछुट्टै बैठक सम्पन्न गरेको छ। व्यापक सहभागितासहित आयोजन भएका ती बैठकहरूबाट भने दुई क्षेत्रमा सहमति निकाल्न नसकिएको पार्टीले जनाएको छ।

केन्द्रीय समितिको निर्देशन अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ समानुपातिक समावेशी मापदण्डसहित नाम सिफारिस गर्नुपर्ने भएकाले क्षेत्रीय समितिहरूले आजको छलफललाई विशेष प्राथमिकताका साथ अघि बढाएका थिए।

क्षेत्र १ : अत्याधिक आकांक्षी, निर्णय स्थगित

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ९, १० जनासम्मले आकांक्षा देखाएपछि बैठकले कुनै एक नाममा सहमति जुटाउन सकेन। क्षेत्रीय सभापति हरिबहादुर लंगेलीका अनुसार सम्भावित दावेदारको संख्या धेरै भएको कारण अन्योल बढेको र भोलि पुनः बैठक बोलाई निष्कर्षमा पुग्ने तयारी गरिएको छ।

यसअघि बिहान बसेको क्षेत्र नं. १ (ख) को बैठकले भने स्थानीय नेतालाई प्राथमिकतामा राखेर नाम सिफारिस गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको क्षेत्रीय सभापति सिताराम दाहालले बताए।

क्षेत्र २ : सिफारिसको जिम्मेवारी कार्य समितिलाई

यस्तै, क्षेत्र नं. २ मा पनि दावेदारको भीडका कारण आजको बैठकबाट नाम टुंगो लागेन। क्षेत्रीय सभापति कौशलकिशोर रायका अनुसार सर्वसम्मत नाम निकाल्न नसकेपछि क्षेत्रीय कार्य समितिलाई नै अन्तिम छनोट गर्ने अधिकार बैठकले प्रदान गरेको छ। समितिले अब अलग्गै बैठक बसेर छिट्टै सिफारिस पठाउनेछ।

क्षेत्र ४ : थापा र सिंहसहित दुई नाम सिफारिस

क्षेत्र नं. ४ को बैठक भने स्पष्ट निर्णयसहित निष्कर्षमा पुगेको छ। बैठकले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पार्टी महामन्त्री गगन कुमार थापा र प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहको नाम पठाउने निर्णय गरेको हो।

क्षेत्र नं. ३ को बैठक सारियो

यसैबीच, आजै बस्ने भनिएको क्षेत्र नं. ३ को बैठक क्षेत्रीय सभापतिको स्वास्थ्यमा समस्या आएकाले सारिएको छ। सबै क्षेत्रबाट प्राप्त नामका आधारमा मंसिर २६ गते बस्ने जिल्ला कार्य समितिको बैठकले अन्तिम सिफारिस टुंग्याउनेछ।

महाधिवेशन सदस्यता विषय ओझेलमा

आजका बैठकहरूमा आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यता सम्बन्धी छलफल गर्ने योजना भए पनि उम्मेदवार सिफारिस प्रक्रियामा नै समय खर्चिएपछि सो विषयलाई भने गम्भीरतापूर्वक छलफल गर्न नपाएको नेताहरुले बताईएको छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार