मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमै एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। जिल्लाको चन्द्रनगर गाउँपालिका–६ का नथुनी मुखियाले आज दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवाको परिसरभित्र आत्मदाहको प्रयास गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कार्यालयको गेटभित्रै प्रवेश गरी उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाउन लाइटर निकाल्न लाग्दा प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कार्यालयभित्रै सुरक्षित स्थानमा राखेको छ।

प्रहरीका अनुसार गरिमा विकास बैंकले घर जग्गा लिलाम गरेको विषयमा असन्तुष्ट रहेका उनले आत्मदाहको प्रयास गरेका हुन्। पछिल्लो समय सर्लाहीका विभिन्न स्थानका स्थानीयले गरिमा विकास बैंकले ऋण दिने भन्दै कागजात संकलन गरी पछि ऋण नदिई जग्गा लिलाम गरेको आरोप लगाउँदै आएका छन्।





