सर्लाही – टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा युनिफर्मसहितका आफ्ना फोटो र भिडियो सार्वजनिक गर्ने २१२ जना सशस्त्र प्रहरी कर्मचारी अनुशासनात्मक कारबाहीमा परेका छन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार २०८० सालदेखि हालसम्म सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आन्तरिक नियम उल्लङ्घन गरेको पाइएका ती कर्मचारीलाई कारबाही गरिएको हो।

उनले भने, “नियमविपरीत पोष्ट गरिएको सामग्री प्रमाणित भएपछि सम्बन्धित सदस्यलाई आवश्यक अनुशासनात्मक प्रक्रिया अघि बढाइएको छ।” युनिफर्म र हतियार देखाएर भिडियो वा तस्बिर पोष्ट गर्नेहरूलाई नसियतदेखि बढुवा रोक्का तथा कडा चेतावनीसम्मका कारबाहीहरु गरिँदै आएको सशस्त्रले जनाएको छ।
यस्तै पछिल्ला तीन दिनभित्र मात्र सामाजिक सञ्जाल प्रयोगमा लापरबाही गरेको भन्दै थप १३ जना सशस्त्र प्रहरीमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको डीआईजी थापाले जानकारी दिए।





