सर्लाहि – वीरगञ्ज कारागारमा रहेर सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। वीरगञ्ज – १२ , मुर्लीका ३७ वर्षीय अनिल महत्तोको शुक्रबार दिउँसो नारायणी अस्पतालमा मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार महत्तो उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरी टोलीले उनलाई तुरुन्तै नारायणी अस्पताल पुर्याएका थियो।

अस्पतालमा भर्ना भएसँगै उपचार कै क्रममा उनको मृत्यु भएको सुवेदीले जानकारी दिए। प्रहरीका अनुसार सवारी ज्यानसम्बन्धी अपराधमा दोषी ठहर भएका महत्तोलाई अदालतले ३ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
उनी यही चैत महिनासम्म कारागारमै सजाय भोगिरहेका थिए। घटनापछि महत्तोका परिवारजनले उपचारमा लापरबाही भएको आरोप लगाउँदै बिरोध गरेपछि अस्पताल परिसरमै केही समय तनावपूर्ण अवस्था बनेको थियो।





