एमालेको ११औँ महाधिवेशन आजदेखि, प्रचण्ड र देउवा पनि सहभागी हुने

२०८२ मंसिर २७, शनिबार ०९:००

सर्लाही – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजना हुने उद्घाटन समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन समारोहमा देशभरबाट करिब तीन लाख नेता कार्यकर्ता र समर्थकको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रममा नेपालको विविधता र राष्ट्रिय एकतालाई झल्काउने २०० भन्दा बढी कला–संस्कृति सम्बन्धी झाँकी प्रदर्शन गरिने तयारी छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग र विदेशी राजनीतिक दलबाट शुभकामना सन्देश प्राप्त भइरहेको छ।

महाधिवेशनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न पार्टीका २४ वटा जनसंगठनको सहभागितामा ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेस कोड’ सहित परिचालन गरिनेछ। साथै, जनसेवालाई व्यवस्थित बनाउन करिब १० हजार तालिमप्राप्त स्वयंसेवक खटाइने तयारी गरिएको छ।

कार्यक्रम स्थलमा लिच्छविकालीन राजा हरिदत्तद्वारा स्थापना गरिएको चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूप मानी उपत्यकाका विभिन्न ऐतिहासिक मन्दिर झल्कने गरी भव्य र कलात्मक मञ्च निर्माण गरिएको छ। सहभागीले टाढाबाट पनि कार्यक्रम स्पष्ट देख्न सकून् भन्नका लागि मञ्चको दायाँ बायाँ ३० फिट अग्ला दुई वटा एलईडी स्क्रिन जडान गरिएको छ।

ध्वनिको गुणस्तरका लागि तीन किलोमिटर टाढासम्म सुनिन सक्ने ११५ वटा उच्चस्तरीय साउन्ड सिस्टम राखिएको छ। मञ्च अगाडि नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन समारोहमा कलाकारहरूले राष्ट्रिय एकताको सन्देश बोकेको सांगीतिक प्रस्तुति मञ्चमै प्रस्तुत गर्नेछन्।

उद्घाटनको विशेष क्षणमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटमार्फत बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। ११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा पार्टी झण्डामध्ये १० वटा पहिले फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराइने तयारी गरिएको छ।

सहभागीका सवारी साधन व्यवस्थापनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म सवारी आवागमन खुला गरिनेछ। गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य ¥यालीसहित महाधिवेशनस्थलमा प्रवेश गरिने कार्यक्रम पनि तय गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार