रौतहटमा स्रोत नखुलेको साँढे ११ लाखभन्दा बढी रुपैयाँसहित एक जना पक्राउ

२०८२ मंसिर २७, शनिबार ०९:१९
साङ्केतिक तस्बिर

सर्लाही – रौतहट जिल्लाको मौलापुर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। मौलापुर – जयनगर सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले शुक्रबार मोटरसाइकल जाँच गर्दा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका ३७ वर्षीय मुन्ना जैसवाललाई नियन्त्रणमा लिएको हो।

उनी मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा हरनैयाबाट जयनगरतर्फ जाँदै थिए। प्रहरीका अनुसार मोटरसाइकलमा झुण्ड्याइएको झोलाभित्र १ हजार दरका ८३३ थान, ५ सय दरका ६२५ थान र १ सय दरका १५ थान नोट फेला परेको थियो।

जम्मा रकम ११ लाख ४७ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बरामद रकमको स्रोत खुलाउन नसकेपछि जैसवाललाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार