सर्लाही – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व ऊर्जामन्त्री कुलमान घिसिङप्रति तीखो टिप्पणी गरेका छन्। कर्णाली प्रदेशमा आयोजित पार्टीको एकता सन्देशसभामा बोल्दै उनले कुलमानले आफूले अवसर पाएको नेतृत्व र संरचनामाथि नै प्रश्न उठाउन खोजेको आरोप लगाए।
प्रचण्डले भने, ‘लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो । यसलाई कसैले नराम्रो भन्न त सक्दैन । भलै, अहिले कुलमानले गुन बिर्सेर जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोजेका छन् । तिनले त्यसो नगरून् भन्न चाहन्छु । कुलमानको बुद्धि फिरोस ! यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् ।’

प्रचण्डले लोडसेडिङ अन्त्यलाई नेकपाको ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्दै यसमा कसैले नकारात्मक टिप्पणी गर्न नसक्ने दाबी गरे। “नेपाललाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने काम हामीले नै गरेका हौँ,” भन्दै उनले कुलमानले त्यस उपलब्धिलाई बेवास्ता गर्दै आलोचना गर्नु अनुचित भएको बताए।
कुलमानले नयाँ राजनीतिक यात्रा रोजेको सन्दर्भमा प्रचण्डले त्यसलाई ‘कृतघ्नता’ को संज्ञा दिए। आफू प्रधानमन्त्री हुँदा दुई पटक जिम्मेवारी दिएर अघि बढाएको व्यक्तिले पार्टी छोड्नु जनताले सजिलै स्वीकार नगर्ने उनको भनाइ थियो।
सभामा प्रचण्डले सुदूरपश्चिम र कर्णालीबाट सुरु भएको एकता अभियानले नेकपालाई फेरि बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। यी सभाहरू केवल प्रचारका लागि नभई विगतका कमजोरीको समीक्षा गर्दै जनतासँग पुनः जोडिने प्रयास भएको उनले बताए।
सुशासन, भ्रष्टाचारमुक्त व्यवस्था र सामाजिक न्यायसहितको समृद्ध समाज निर्माण नै पार्टीको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो। उनले विगतका त्रुटि नदोहो¥याउने प्रतिबद्धता जनाउँदै कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास निरन्तर रहेको बताए।
जेन–जी आन्दोलन र पछिल्लो सरकारबीच भएको सहमति पनि नेकपाकै नीति–कार्यक्रमसँग मेल खाने दाबी प्रचण्डले गरे। त्यसै कार्यक्रममा सहसंयोजक माधवकुमार नेपालले नेकपालाई ‘इमानदारहरूको पार्टी’ भन्दै भ्रष्टाचार र स्वार्थी प्रवृत्ति अन्त्य नगरी देशले प्रगति गर्न नसक्ने बताए।
विगतका कमजोरी स्वीकार्दै जनताको साझा भावनामा आधारित राजनीति अघि बढाउन पार्टी एकता गरिएको उनको भनाइ थियो।





