सर्लाही – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको नाम सर्लाहीबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
शनिबार सम्पन्न लोसपा सर्लाही जिल्ला समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष ठाकुरको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। जिल्ला सचिव मिथलेश यादवका अनुसार बैठकले सर्वसम्मत रूपमा ठाकुरलाई समानुपातिकतर्फ अघि सारेको हो।

अध्यक्ष ठाकुर यस अघि सर्लाहीबाट दुई पटक प्रत्यक्ष चुनावमा पराजित भएका थिए। तर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी महोत्तरी – ३ बाट निर्वाचित भएका थिए।
यस्तै, सर्लाही–१ बाट लोसपाका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको एकल नाम केन्द्रमा सिफारिस गरिएको छ। सर्लाही–२ बाट भने भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठाको नाम सिफारिस गरिएको सचिव यादवले जानकारी दिए।
समानुपातिकतर्फ अध्यक्ष ठाकुरसँगै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिता कुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि सिफारिस गरिएको छ।





