मलंगवा – सर्लाहीमा साँढे ३१ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बरहथवा नगरपालिका – १२ स्थित हरिवनबाट बेल्हीतर्फ जाने बागमती सिँचाइ नहरको सडकखण्डबाट प्रहरीले उक्त परिमाणको प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका – १४ ठुलो घुम्ने टोल बस्ने २९ वर्षीय कान्छा राम स्याङतान र सोही वडाको सानो घुम्ने टोल बस्ने २५ वर्षीय मान बहादुर ठोकर रहेका छन्।

प्रहरीका अनुसार हिजो (शनिबार) बिहान करिब ५:४० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश – १ – ०२ – ०५२ प ३५०६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको बीच भागमा प्लास्टिकको बोरामा राखिएको शंकास्पद सामग्री फेला परेपछि खोल्दा ६ पोका प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल प्लास्टिकसहित ३१ किलो ५९० ग्राम रहेको छ।
गाँजासँगै प्रहरीले उनीहरुको साथबाट सो मोटरसाइकल, दुई थान किप्याड मोबाइल, एक थान स्क्रिन टच मोबाइल, ७१ हजार ५७५ रुपैयाँ नेपाली नगद, ९ हजार ७ सय रुपैयाँ भारतीय नगद, एक थान लक्ष्मी सनराईज बैंकको एटीएम कार्ड र ब्राउन रंगको एक थान छालाको खाली ब्याग बरामद गरेको छ।
उनीहरूलाई सम्मानित सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





