सर्लाही – मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित बनेको छ ।
शपथ ग्रहणसँगै तत्काल विश्वासको मत लिने र सरकार विस्तार गर्ने घोषणा गरेका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हालसम्म त्यसका लागि आवश्यक तयारी पूरा गर्न सकेका छैनन् ।

प्रदेश सभाका एक सांसदका अनुसार अब एमालेको जारी ११औँ महाधिवेशन सम्पन्न भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।
उनका अनुसार मन्त्रालयको बाँडफाँडसम्बन्धी गृहकार्य लगभग अन्तिम चरणमा पुगेको भए पनि औपचारिक निर्णय भने महाधिवेशनपछि मात्रै हुने छ । मुख्यमन्त्री यादव मंसिर २३ गते कांग्रेसका शीर्ष नेतासँग छलफलका लागि काठमाडौँ पुगेका थिए ।
त्यसको भोलिपल्ट मंसिर २४ गते सत्ता साझेदार सात दलको बैठक बोलाइए पनि मुख्यमन्त्री जनकपुर नफर्किएपछि बैठक स्थगित भयो । त्यसयता सात दलीय गठबन्धनको बैठक बस्न सकेको छैन ।
कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादव मंसिर १९ गते एमाले बाहेकका सात दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र माओवादी केन्द्र दुवैको दाबी रहेको बताइएको छ । साथै, सत्तारुढ दलहरूबीच प्रदेश सभाको सभामुख चयनमा पनि सहमति जुट्न बाँकी रहेको छ ।





