मलंगवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको आधुनिक बसपार्क अन्ततः सञ्चालनमा आएको छ। लामो समयदेखि अलपत्रजस्तै बनेको उक्त बसपार्क आजदेखि औपचारिक रूपमा संचालनमा ल्याइएको हो।
मलङ्गवा नगरपालिका – २ मा जिल्ला प्रहरी कार्यालय नजिकै निर्माण गरिएको बसपार्क पुस १ गतेदेखि सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालयबीच भएको बैठकले गरेको थियो। सोही निर्णय अनुसार आजदेखि नयाँ बसपार्कबाट यात्रुबाहक बसहरू चल्न थालेका हुन्।

यसअघि बस व्यवसायीहरू मलङ्गवा नगरपालिका – ९ मा रहेको कृषि विकास बैंकको जग्गामा वर्षौंदेखि प्रयोग हुँदै आएको पुरानो बसपार्क छाड्न तयार थिएनन्। बैंकले भने आफ्नो स्वामित्वको उक्त जग्गा खाली गराइदिन पटक पटक प्रशासनलाई पत्राचार गर्दै आएको थियो।
नयाँ र सुविधा सम्पन्न बसपार्क तयार भइसकेपछि पनि बजारकै बीचमा रहेको पुरानो बसपार्कबाट बस छुट्दा बजार क्षेत्र अस्तव्यस्त बन्दै आएको थियो। आजदेखि भने नयाँ बसपार्कमै बस राख्ने र त्यहाँबाट राजश्री चोक, टावर चोक हुँदै जिविस चोकतर्फ बस सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
तर टेम्पु, म्याजिकजस्ता साना सवारीका लागि भने जिविस चौरमा निर्माणाधीन मन्दिर नजिकै पार्किङ गरी त्यहीँबाट सञ्चालन गर्ने निर्णय गरिएको मलंगवा नगरपालिकाले जनाएको छ। यस निर्णयको विरोधमा आज बिहानैदेखि म्याजिक र टेम्पु चालकहरूले जिविस चोकमा चक्काजाम गर्दै आफूहरूलाई पनि बसपार्कबाटै छुट्न दिनुपर्ने माग गरेका छन्।
म्याजिक तथा अन्य मझौला यातायात व्यवसायीहरूले यसअघि बसपार्क उद्घाटन भएदेखि त्यहीँबाट सवारी चलाउँदै आएका थिए। तर हाल नगरपालिकाले जिविस चौरबाट मात्रै सञ्चालन गर्न निर्देशन दिएपछि विरोध चर्किएको हो। यस सम्बन्धमा सम्बन्धित सङ्घले हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै बससरह बसपार्कमै पार्किङ र सञ्चालनको सुविधा दिन माग गरेको थियो।





