मलंगवा – सर्लाहीका उखु किसानले गत वर्षको पाउन बाँकी ३५ रुपैयाँ अनुदान रकम तत्काल भुक्तानी गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।
संयुक्त उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाइमा किसानले शुक्रबार ज्ञापनपत्र बुझाएका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरे पनि ३५ रुपैयाँ मात्र उपलब्ध गराइएको भन्दै किसान असन्तुष्ट छन्।

हाल प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले बाँकी ३५ रुपैयाँ अनुदान मंसिर महिनाभित्र भुक्तानी गर्ने आश्वासन दिएका थिए। तर तोकिएको समय बितिसक्दा पनि रकम नपाएपछि किसानले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन्।
किसानले गत वर्षको बाँकी अनुदान तुरुन्त उपलब्ध गराउन र यस वर्ष उखुको मूल्य छिमेकी मुलुक भारतको बजार मूल्य अनुसार प्रतिक्विन्टल कम्तीमा ६३३ रुपैयाँ कायम गर्न माग गरेका छन्। सरकारले भने यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ र थप ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।





