मलंगवा – सर्लाहीसहित तराई – मधेशमा तापक्रम निरन्तर घट्दै जाँदा शीतलहर र जाडो मौसम जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको छ । विशेषगरी तराई – मधेश क्षेत्रमा शीतलहरले दैनिक जीवनसँगै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्तो अवस्थामा राज्य, समुदाय र नागरिक स्वयं सचेत बन्न जरुरि छ।
जाडो मौसमले सबै उमेर समूहलाई असर गरे पनि बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा दीर्घरोगीहरू बढी जोखिममा पर्छन् । चिसोका कारण शरीरका रक्तनली खुम्चिने, रक्तप्रवाह अवरुद्ध हुने र रगत बाक्लिने समस्या देखिन्छ । यसले मुटुरोग, उच्च रक्तचाप तथा मस्तिष्कघातजस्ता घातक रोगको सम्भावना बढाउँछ । सामान्य अवस्थामा नियन्त्रणमा रहेका रोगहरू पनि जाडोमा जटिल बन्न सक्ने चिकित्सकहरू बताउँछन।

शीतलहरको समयमा पाचन प्रणाली कमजोर भई ग्यास्ट्रिक, खाना अपच, बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्ने तथा भाइरल संक्रमण बढ्ने गर्छ । साथै, जाडोसँगै इन्फ्लुएन्जा, निमोनिया, दम र ब्रोङ्काइटिसजस्ता रोगले पनि टाउको उठाउने गरेका छन् । यी रोगको समयमै उपचार नगरे ज्यानसमेत जाने जोखिम रहन्छ। यस्तो अवस्थामा बच्ने उपाय अपनाउनु नै सबैभन्दा प्रभावकारी विकल्प हो ।
शरीरलाई न्यानो राख्ने, बाक्लो कपडा, पन्जा र मोजा प्रयोग गर्ने, तातो र पोषिलो खानेकुरा खाने, दिउँसो केही समय घाम ताप्ने र नियमित रूपमा हल्का शारीरिक गतिविधि गर्ने बानी बसाल्न जरुरी छ । घरभित्र चिसो नछिर्ने व्यवस्था मिलाउनुपर्छ तर झ्याल ढोका पूरै बन्द गरेर आगो, हिटर वा कोइला बालेर सुत्नु ज्यान जोखिममा पार्नु सरह हुन्छ।





