सर्लाहीमा अवैध सालको काठ बरामद

२०८२ पुष ६, आईतवार ०९:३३

सर्लाही – सर्लाहीको बागमती नगरपालिका – ३ मा अवैध रूपमा लुकाइराखिएको सालका काठ प्रहरीले बरामद गरेको छ।

स्थानीय निरज घलानको गोठभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २२ क्यूफिट सालको काँचो गोलिया फेला पारेको हो। गोठमा काठ लुकाइएको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जिरायत तथा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति त्यहाँबाट काठ बरामद गरेको हो।

प्रहरीका अनुसार सात फिट लम्बाइका पाँच थान, चार फिटका चार थान र तीन फिटका चार थान गरी जम्मा १३ थान सालका गोलिया बरामद गरिएको छ। बरामद गरिएका काठहरू आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय मुर्तियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार