सर्लाही – नेपाली कांग्रेस सर्लाहीका उपसभापति तथा लौकट गाविसका पूर्वअध्यक्ष नवीन अधिकारीको हृदयघातका कारण निधन भएको छ । अधिकारीको आईतबार दिउँसो ४ बजे काठमाडौँस्थित गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले जानकारी दिएअनुसार अधिकारीको काठमाडौँको गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । उनी बरहथवा नगरपालिकाका स्थायी बासिन्दा थिए र जिल्लामा कांग्रेसीहरू माझ निकै लोकप्रिय थिए । २०२२ सालमा जन्मिएका स्वर्गीय अधिकारीले २०४२ सालमा नेविसंघ सर्लाहीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसको १२औँ र १३औँ जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी १४औँ अधिवेशनबाट उपसभापतिमा चुनिएका थिए । उनको पार्थिव शरीरको आइतबार राति नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । अधिकारीका दुई छोरी र श्रीमती छन् ।





