सर्लाही – बंगलादेशमा आसन्न आम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक हिंसाका घटनाहरू बढ्दै गएका छन्। युवा नेता शरीफ उस्मान हादीको हत्या भएको केही दिनमै, सोमबार फेरि एक युवा नेतामाथि गोली प्रहार गरिएको छ।
अज्ञात बन्दुकधारीहरूले राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोतालेब सिकदरलाई गोली हानेका हुन्। गोली सिकदरको टाउकोमा लागेको र उनको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ। उनलाई उपचारका लागि तत्काल खुलना मेडिकल कलेज अस्पताल भर्ना गरिएको छ।

बंगलादेशको चर्चित समाचार माध्यम द डेली स्टार का अनुसार, सिकदरको अवस्था अझै पनि गम्भीर अवस्थामा छ। उनी एनसीपीको खुलना डिभिजन प्रमुख हुनुका साथै वर्कर्स फ्रन्टका केन्द्रीय संयोजकसमेत रहेका छन्। यो आक्रमण देश अझै पनि ३२ वर्षीय युवा नेता शरीफ उस्मान हादीको हत्याबाट आक्रोशित अवस्थामा रहेका बेला भएको हो।
गत डिसेम्बर १२ मा ढाकाको विजयनगर क्षेत्रमा चुनावी प्रचारका क्रममा नकाबधारी आक्रमणकारीहरूले हादीलाई टाउकोमा गोली हानेका थिए। गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
रिपोर्टअनुसार ४२ वर्षीय मोतालेब सिकदर सन् २००४ मा भएको हिंसात्मक विद्यार्थी आन्दोलनका प्रमुख पात्रहरूमध्ये एक थिए। पछिल्ला घटनाक्रमले बंगलादेशमा चुनावअघि सुरक्षा चुनौती झन् गम्भीर बन्दै गएको संकेत गरेको छ।





