सर्लाही – मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बंगलादेशमा एक हिन्दू युवकमाथि भएको निर्मम हत्यालाई मानवताविरुद्धको गम्भीर अपराध बताएका छन्। उनले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै नेपाल सरकारले बंगलादेशका अल्पसंख्यक समुदायको संरक्षणका लागि कूटनीतिक कदम चाल्नुपर्ने बताएका छन्।
हाल बंगलादेशमा जारी सरकारविरोधी आन्दोलनका क्रममा हिन्दू युवक दीपुचन्द्र दासको क्रूरतापूर्वक हत्या गरिएको घटनाले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको सोनलको भनाइ छ। उनले यस्तो बर्बर घटनाले धार्मिक अल्पसंख्यक समुदाय असुरक्षित बन्दै गएको स्पष्ट संकेत दिएको उल्लेख गरे।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले भने, “धार्मिक पहिचानकै आधारमा युवकको हत्या हुनु अत्यन्तै अमानवीय र जघन्य अपराध हो। यस्तो घटनाको जतिसुकै आलोचना गरे पनि त्यो पर्याप्त हुँदैन।”
उनले बंगलादेशमा हिन्दू तथा अन्य धार्मिक अल्पसंख्यकहरूमाथि भइरहेका हिंसात्मक घटनाहरू तत्काल रोक्न नेपाल सरकारले कूटनीतिक माध्यमबाट दबाब दिनुपर्ने धारणा राखे। साथै, अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा गम्भीर ध्यान दिन आवश्यक रहेको बताए।
सोनलले बंगलादेशमा हाल महमद युनुसको नेतृत्वमा रहेको सरकार जनताको प्रत्यक्ष जनादेशबाट नभई विद्रोहको परिणामस्वरूप बनेको कामचलाउ सरकार भएको दाबी गरे। उनले त्यहाँ जनताको म्याण्डेटबाट निर्वाचित सरकार गठनका लागि वातावरण बनाउन अन्तर्राष्ट्रिय जगतले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।





