सर्लाही – तराईका धेरै स्थानमा लागेको हुस्सु तथा कुहिरो अझै केही दिन हट्ने संकेत देखिएको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार नहुने सम्भावना छ।
विभागले मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार मंगलबार रातिदेखि बिहीबारसम्म तराईका भू–भागमा हुस्सु/कुहिरो रहनेछ। यो समयमा पहाडी तथा हिमाली भू–भागमा भने मौसम अधिकांश समय सफा रहने पूर्वानुमान गरिएको छ।
बुधबार (पुस ९) कोसी प्रदेशका तराई क्षेत्रमा मध्याह्नसम्म र अन्य तराई क्षेत्रमा दिनभर कुहिरो लाग्नेछ। बिहीबार (पुस १०) पनि तराईमा कुहिरो कायमै रहनेछ भने सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्ने विभागले जनाएको छ।
विभागले कुहिरोका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।






