सर्लाहीका विद्यालयमा तत्काल जाडो बिदा दिन शिक्षा विकास तथा समन्वय इकाइको आग्रह

२०८२ पुष ८, मंगलवार १९:२८
File Image

मलंगवा – सर्लाहीसहित मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाका सबै स्थानीय तहलाई विद्यालयमा तत्काल जाडो बिदा दिन आग्रह गरेको छ।

इकाइले जिल्लाका २० वटै पालिकालाई पत्राचार गर्दै पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेकाले बालबालिकाको स्वास्थ्य जोखिममा परेको र नियमित पठनपाठनमा समेत असर परिरहेको उल्लेख गरेको छ। यस्तो अवस्थामा विद्यार्थीको हितलाई ध्यानमा राख्दै केही दिनका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको हो।

इकाइका अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिन सकिने व्यवस्था गर्न पालिकाहरुलाई आग्रह गरिएको छ। यद्यपि, चार दिनदेखि शीतलहर, बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित भए पनि सर्लाहीका कुनै पनि स्थानीय तहले हालसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छैनन्।

यसका कारण बालबालिका कठ्याङ्ग्रिने चिसोमा विद्यालय जान बाध्य छन्। विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका बालबालिकासँग न्यानो कपडा र जुत्ता नहुँदा थप समस्या भएको छ। अत्याधिक जाडो बढ्दै गएपछि तराई – मधेशका बिभिन्न जिल्लाहरुका बिद्यालयले केहि दिन अघिदेखि नै जाडो बिदा दिइसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार