रौतहटमा बुहारीको हत्या गरेका ससुरासहित दुईजना पुर्पक्षका लागि कारागार चलान

२०८२ पुष ९, बुधबार १५:४०

सर्लाही – रौतहटको बृन्दावन नगरपालिका – ९ भुसाहा टोलमा भएको बुहारी हत्या प्रकरणमा संलग्न आरोपमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत रौतहटले ७५ वर्षीय शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई थुनामा पठाउने आदेश दिएको हो।

उनीहरूविरुद्ध १८ वर्षीया बुहारी तरिमा खातुनको हत्या गरी घरभित्रै खाल्डो खनेर शव गाडेको आरोप छ। घटना गत मंसिर ८ गते भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंसिर ७ गते बिहान तरिमाका बाबुले छोरी लामो समयदेखि ससुराली पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते रातिदेखि सम्पर्कविहीन भएको जानकारी दिएका थिए।

सूचना पाएपछि प्रहरीले तरिमाको ससुराली घरमा खोजतलास गर्दा परिवारका सदस्यहरू फरार रहेको र घरभित्र रगतका दाग देखिएको थियो। थप अनुसन्धान गर्दा घर कम्पाउण्डको एक कुनामा जमिन भासिएको देखिएपछि उत्खनन गरिएको थियो। उत्खननका क्रममा करिब पाँच फिट गहिराइमा बोरा भित्र राखिएको अवस्थामा तरिमाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस घटनामा शेख ताज महमदको जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका दुवै प्रतिवादीलाई मंसिर १० गते अदालतमा पेश गरिएको थियो। अदालतको आदेश अनुसार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार