सर्लाही – मौसममा आएको अचानक परिवर्तनका कारण तराई–मधेशमा फैलिएको शीतलहर र पहाडी तथा हिमाली क्षेत्रमा परेको हिमपातले आमनागरिकको दैनिकी कठिन बनेको छ। यस अवस्थाप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले जारी गरेको अपीलमा विशेष गरी गरिब, विपन्न तथा सीमान्तीकृत समुदाय सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेका छन्। उनले चिसो र हिमपातका कारण उत्पन्न हुन सक्ने मानवीय क्षति तथा स्वास्थ्य जोखिम रोक्न तत्काल राहत र आवश्यक पूर्वतयारी गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई आग्रह गरेका छन्।

साथै, प्रभावित क्षेत्रका नागरिकलाई छिटो सहयोग पुर्याउन र राहत कार्य प्रभावकारी बनाउन पार्टीका सबै सम्बन्धित समिति तथा संरचनालाई समन्वयात्मक रूपमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।
प्रचण्डले प्राकृतिक विपद्का यस्ता अवस्थामा सबै निकायको साझा प्रयास आवश्यक हुने उल्लेख गर्दै प्रभावित जनताको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।





