सर्लाही – बंगलादेशमा अर्को हिन्दु युवालाई भीडले कुटपिट गरी हत्या गरेको छ । घटना बुधबार राति ११ बजेतिर राजबारी जिल्लाको होसेन्डांगा गाउँमा भएको हो। बंगलादेशको अनलाइन डेली स्टारका अनुसार मृत्यु हुने युवक २९ वर्षीय अमृत मण्डल रहेका छन् । उनलाई सम्राटको रूपमा पनि चिनिने बताइएको छ ।
अमृतमाथि जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको आरोप लगाउँदै स्थानीयहरूले आक्रमण गरेका थिए। गम्भीर घाइते अवस्थामा उनी घटनास्थलमै ढलेका थिए। यसअघि पनि डिसेम्बर १८ मा ढाका नजिकै अर्को हिन्दु युवा दिपु चन्द्र दासको भीडद्वारा हत्या भएको थियो।

उनलाई कुटपिटपछि झुण्ड्याएर जलाइएको थियो, जसले देशभर त्रास र आक्रोश फैलाएको थियो। प्रहरीका अनुसार अमृत मण्डल होसेन्डांगा गाउँकै स्थायी बासिन्दा थिए। घटनासँग सम्बन्धित आरोपमा उनका साथी मोहम्मद सलीमलाई पक्राउ गरिएको छ। सलीमबाट दुई थान हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
डेली स्टारको रिपोर्टमा स्थानीयवासीहरूले अमृतमाथि आपराधिक समूह सञ्चालन गरेको आरोप लगाएका छन्। उनी लामो समयदेखि चन्दा असुली र अन्य गैरकानुनी गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ। भारतमा केही समय लुकेर बसेपछि उनी केही समयअघि मात्र गाउँ फर्किएको बताइएको छ।





