सर्लाहीमा झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा वडाध्यक्ष पक्राउ

२०८२ पुष १३, आईतवार २०:०४

मलङ्गवा – मलङ्गवा नगरपालिका – ७ का वडाध्यक्ष मो. इशा मिकरानी नागरिकता सम्बन्धी कसूर मुद्दामा पक्राउ परेका छन्। झुठो विवरणको आधारमा नागरिकता जारी गराउन संलग्न भएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिकरानीले रामविश्वास रायलाई गैरकानुनी रूपमा नागरिकता दिलाउन सहयोग गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ। उनलाई आज दिउँसो पक्राउ गरी सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरिएको छ।

झुठो विवरण प्रयोग गरी नागरिकता जारी भएको घटनामा वडाध्यक्षको संलग्नता देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते नै पत्राचार गरेको थियो। त्यसपछि सर्लाही जिल्ला अदालत मलंगावाले मङ्सिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो।

प्रहरीले मिकरानीलाई आज पक्राउ गरी अनुसन्धान थालेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार