रौतहटको बीच सडकमा ग्यास बुलेट पल्टिदा बन्द भएको महेन्द्र राजमार्ग अझै खुलेन

२०८२ पुष १५, मंगलवार २१:१६

सर्लाही – रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट पल्टिएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग बिहानदेखि अवरुद्ध भएको छ।

आज बिहान करिब ७ः३० बजे लमाह पुल नजिक दुर्घटना भएपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ग्यास ट्याङ्कर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनापछि राजमार्ग खुलाउने प्रयास भए पनि प्राविधिक जटिलताका कारण अहिलेसम्म सफल हुन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन्। बिहान ९ बजेदेखि ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाको टोलीले दुर्घटनाग्रस्त बुलेट हटाउने प्रयास गरिरहेको छ।

बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको भए पनि ग्यास चुहावट नियन्त्रणमा लिन नसक्दा काम ढिलो भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फबाट आएका सवारीसाधन चन्द्रनिगाहपुर क्षेत्रमा रोकिएका छन्। केही सवारीसाधन भने चन्द्रनिगाहपुर–गौर सडक हुँदै बालचनपुर र जङ्गल सहिया भएर धन्सार पुग्ने करिब ३५ किलोमिटर लामो वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार