सर्लाही – पोखराको लिचीबारीमा भएको भ्रष्टाचार प्रकरणमा संलग्न ठहर गर्दै विशेष अदालतले पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। अदालतको आदेशसँगै उनलाई कारागार पठाउने प्रशासनिक प्रक्रिया सुरु गरिएको विशेष अदालतले जानकारी दिएको छ।

अनुसन्धानका क्रममा तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोक्ने र भूमि आयोगमा सदस्य नियुक्त गरिदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएको थियो। यही आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराइदिने नाममा २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ।
अख्तियारले गत असोज २२ गते गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। दुई नेताबीचको अडिओ संवाद सार्वजनिक भएपछि आयोगले औपचारिक अनुसन्धान थालेको थियो।
उक्त अडिओमा बिचौलियाले मन्त्री गुप्तासँग “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला” भन्ने संवाद गरेको बाहिएको थियो।





