सर्लाही – मधेश प्रदेशका नवनियुक्त गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले पदभार ग्रहण गर्दै दुई महत्वपूर्ण निर्णय गरेका छन् । उनले मधेशी सहिदको सम्मान र लागुऔषध दुर्ब्यशन न्यूनीकरणलाई प्राथमिकतामा राख्दै तत्काल कार्यान्वयनतर्फ उन्मुख हुने बताएका छन्।
मन्त्री महतोको पहिलो निर्णय मधेशी सहिद प्रतिष्ठानका लागि आवश्यक ऐन निर्माण गरी सहिद लक्षित कार्यक्रमहरू अगाडि बढाइनेछ । सहिदहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण र सम्मान गर्न कानुनी आधार तयार पारिने उनले जनाएका छन् ।

त्यस्तै, दोस्रो निर्णय अन्तर्गत लागुऔषध दुर्व्यसनि न्यूनीकरणका लागि मधेश प्रदेशका आठै वटै जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । बढ्दो लागुऔषध समस्या नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी दीर्घकालीन योजना अघि बढाइने मन्त्री महतोले बताए ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य महतो मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा गरिएको पछिल्लो मन्त्रिपरिषद् विस्तारमा गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रदेश सांसद हुन् ।
यसैबीच, मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झन्डै एक महिनापछि छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पूर्ण भएको हो । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
गएको मङ्सिर १९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन तीन जना मन्त्री नियुक्त गरिएको थियो । मंशिर २९ गते थप दुई जना मन्त्री नियुक्त गर्दै विनाविभागीय मन्त्रीहरूलाई समेत मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।





