मलंगवा – निर्वाचन आयोगले सर्लाही जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलियालाई जिल्लाको मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत तोकेको छ।
कानुनअनुसार प्रत्येक जिल्लामा जिल्ला अदालतका मुख्य न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ। सोहि अनुसार उनि जिल्लाको मुख्य निर्वाचन अधिकृत छनोट भएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ महिनाको पहिलो सातादेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ।
सर्लाहीमा फागुन २१ गते हुने निर्वाचनका लागि ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम छन्। जिल्लाभर ३१२ मतदानस्थलमा ६२८ मतदान केन्द्र निर्धारण भइसकेका छन्।





