धनकौल – ६ का वडाध्यक्ष साहको पुनर्बाहाली

२०८२ पुष २१, सोमबार १५:१५

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका – ६ का वडाध्यक्ष श्यामबाबु साह पुनर्बाहाली भएका छन्। बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई औपचारिक रूपमा वडाध्यक्षको जिम्मेवारी पुनः प्रदान गरिएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा वडा नम्बर ६ भित्रको कृषि बाटो निर्माण कार्यमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १५ गते वडाध्यक्ष साहसहित नौ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएसँगै साह स्वतः निलम्बनमा परेका थिए। उक्त मुद्दाको फैसला गत बुधबार भएको हो। विशेष अदालतले वडाध्यक्ष साहसहित सबै प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिएको छ।

अदालतबाट सफाइ पाएपछि साहलाई पुनः वडाध्यक्ष पदमा बहाल गरिएको हो। अदालतको फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार