प्रधानमन्त्री र मधेस प्रदेश प्रमुखबीच भेटवार्ता, प्रदेशको शान्ति सद्भावबारे छलफल

२०८२ पुष २२, मंगलवार १९:१५

सर्लाही – प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मधेस प्रदेशको समग्र अवस्था, समसामयिक राजनीति र सामाजिक विषयमा छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले मधेस प्रदेशमा देखिएका राजनीतिक चुनौती समाधान गर्न प्रदेश प्रमुख लाभले खेलेको अभिभावकीय भूमिकाको प्रशंसा गरिन्। उनले पछिल्लो समय मधेसमा देखिएका सामाजिक समस्याहरू समाधान गर्न पनि यस्तै सक्रिय र समन्वयकारी भूमिका आवश्यक रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “मधेस प्रदेशमा उत्पन्न राजनीतिक समस्या समाधानका लागि तपाईंले निर्वाह गर्नुभएको अभिभावकीय भूमिका सराहनीय छ। आगामी दिनमा पनि सबै समुदायलाई समेट्दै शान्ति र सद्भाव कायम गर्न तपाईंको योगदान अझ महत्वपूर्ण हुनेछ भन्ने विश्वास छ।”

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई ध्यानमा राख्दै सम्भावित चुनौतीहरूप्रति सतर्क रहनुपर्नेमा प्रधानमन्त्रीले जोड दिइन्। निर्वाचनको माहोल बन्दै गएको अवस्थामा समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्षको भूमिका अपरिहार्य हुने उनको भनाइ थियो।

प्रधानमन्त्रीले भनिन्, “देश निर्वाचनको चरणमा प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा अस्थिरता सिर्जना गर्ने प्रयास हुन सक्छन्। त्यसैले राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउन आवश्यक छ। यसमा तपाईंको अभिभावकीय पहल महत्त्वपूर्ण हुनेछ।”

प्रदेश प्रमुख सुरेन्द्र लाभले प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न आफू निरन्तर सक्रिय रहेको र सुरक्षा तथा प्रशासनिक निकायलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी गराए।

भेटका अवसरमा प्रदेश प्रमुख लाभले पदभार सम्हालेपछि दुई महिनाको अवधिमा सम्पन्न गतिविधिहरूको विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरे। साथै उनले मिथिलाका स्थानीय कलाकारद्वारा निर्मित जानकी मन्दिरको प्रतिमा तथा आफ्ना केही पुस्तकहरू प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप प्रदान गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार