सर्लाही – राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मधेसबाट चार पदका लागि विभिन्न दल र गठबन्धनका उम्मेदवार मैदानमा उत्रिएका हुन्।
नेपाली कांग्रेस – नेकपा (एमाले) गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका छन्।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘अन्य’ समूहबाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीलाई जसपा नेपालले पनि समर्थन जनाएको छ।
जसपा नेपालबाट तीन जना उम्मेदवार दर्ता भएका छन्। अल्पसंख्यक समूहबाट शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी दिएका हुन्। चौधरी सप्तरी, साह सिरहा र दास धनुषा जिल्लाका हुन्।
नेपाली कम्युनिस्ट पार्टीबाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यक समूहबाट रामनन्दन प्रसाद, अन्य समूहबाट लक्ष्मण पौडेल तथा मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, कांग्रेस–एमाले गठबन्धनतर्फ दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसकै रञ्जित कर्ण र महिलातर्फ एमालेकी रेखा झाले उम्मेदवारी दिएका छन्।





