सर्लाहीमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्ने सहमति

२०८२ पुष २३, बुधबार २०:०८

मलंगवा – सर्लाही जिल्लामा धार्मिक तथा सांस्कृतिक सद्भाव कायम गर्दै शान्ति र सुव्यवस्था सुनिश्चित गर्न सबै सरोकारवालाले आ-आफ्नो भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकले धार्मिक तथा सांस्कृतिक सद्भाव कायम गर्दै शान्ति र सुव्यवस्था सुनिश्चित गर्न सबै सरोकारवालाले आ–आफ्नो भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।

यसका साथै, बैठकले समाजमा आपसी सद्भाव बिग्रने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ। बैठकले धार्मिक, सांस्कृतिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्न जो–कोहीलाई कानूनअनुसार कारबाही गरिने निर्णय गरेको छ।

समितिले यस्ता गतिविधि नियन्त्रण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई पनि समाजमा द्वन्द्व फैलाउने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। साथै जिल्लाभरिका सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सक्रिय बनाउने निर्णयसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार