१ लाख ३३ हजार ९८० निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो ( सूचनासहित )

२०८२ पुष २४, बिहीबार ०८:०३

सर्लाही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

निर्वाचन सुरक्षामा खटिन इच्छुक नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनमा समेत दरखास्त संकलन गरिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ।

दरखास्त फारम काठमाडौँ उपत्यकाभित्रका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।

साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकहरू निर्वाचन प्रहरीमा सहभागी हुन सक्नेछन्। माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

छनोट भएका उम्मेदवारहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहनेछ। सो अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन्।

साथै, रासन तथा आवतजावत खर्चबापत ८४६ रुपैयाँ थप उपलब्ध गराइनेछ। त्यसैगरी, तालिम अवधिका ४ दिनका लागि दैनिक ३ सय रुपैयाँका दरले खाजा खर्च दिइनेछ भने पोसाकको व्यवस्था प्रहरी प्रधान कार्यालयले गर्नेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार