सर्लाहीमा पुरानो रिसिबिका कारण वन चौकीदारको बिभत्स हत्या

२०८२ पुष २४, बिहीबार १८:५९

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन चौकीदारको पुरानो रिसिबिका कारण हत्या भएको खुलेको छ।

गस्तीका लागि जंगल गएका ईश्वरपुर नगरपालिका – २ राइटरखोर टोल निवासी ५२ वर्षीय रामेश्वर महतो कोइरीको शव शनिबार दिउँसो परियोजना क्षेत्रभित्रै टाउको छिनिएको र रक्ताम्य अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार कोइरी पुस १९ गते बिहान करिब ५ बजे साइकलमा एक्लै प्लट नम्बर १० को जंगलमा गस्ती गर्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। खोजीका क्रममा दिउँसो करिब साढे दुई बजे वनमाराको झाडीभित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनास्थल नजिकै रगत लागेको बन्चरो र कालो रंगको चप्पल फेला परेपछि अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाहरूले ती सामग्री सोही वडाका रामबलि महतोको भएको पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रामबलिको घर खानतलासी गर्दा सुत्ने कोठामा झुण्ड्याइएका ज्याकेट र जिन्स पाइन्टमा रगतका छिटा फेला परेको जनाएको छ। ती कपडाहरूलाई प्रहरीले प्रमाणका रूपमा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईका अनुसार पक्राउ परेका रामबलि महतो अवैध रूपमा टिक र मसलाका काठ चोरी गर्दै आएका थिए। मृतक कोइरीले पटक पटक काठ चोरी रोक्ने प्रयास गर्दा दुबैबीच विवाद हुँदै आएको थियो।

‘घटनाभन्दा केही दिनअघि चोरी गरी राखिएको टिकको काठ चौकीदारले नियन्त्रणमा लिएपछि आरोपीले धम्कीसमेत दिएका थिए,’ प्रहरी उपरीक्षक राईले बताए। प्रारम्भिक अनुसन्धानबाट यही पुरानो रिसिबि हत्याको कारण बनेको खुलेको उनले जानकारी दिए।

घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली र कुकुर परिचालन गरिएको थियो। पक्राउ परेका रामबलि महतोविरुद्ध ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ६ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार