धनुषामा मगर मौलिक राष्ट्रिय सांस्कृतिक पर्व मेला भव्य रूपमा सम्पन्न

२०८२ पुष २६, शनिबार २०:०५

सर्लाही – मगर समुदायलाई एकीकृत गर्ने तथा मगर भाषा, संस्कृति र मौलिक भेषभूषाको संरक्षण गर्ने उद्देश्यसहित माघे सङ्क्रान्तिलाई लक्षित गरी नेपाल मगर संघ जिल्ला समन्वय समिति धनुषाको आयोजनामा एक दिवसीय मगर मौलिक राष्ट्रिय सांस्कृतिक पर्व मेला धनुषास्थित बिरेन्द्र बजारमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

मेलामा मगर समुदायको मौलिक पहिचान झल्किने परम्परागत भेषभूषा, मगर गीत नृत्य तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो। स्थानीय कलाकारसँगै राष्ट्रिय स्तरका कलाकारहरूले दिएको बेजोड प्रस्तुतीले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा समुदायका अगुवा, बुद्धिजीवी, युवायुवती तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जगत बहादुर रेस्मी मगरले मगर समुदायको एकता, पहिचान र अधिकारका विषयमा जोड दिँदै संवैधानिक निकायहरूमा मगर समुदायको सक्रिय र प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।

माघे सङ्क्रान्तिको अवसरमा आयोजना गरिएको यस मेलाले मगर समुदायको गौरवपूर्ण इतिहास, संस्कृति र पहिचानलाई उजागर गर्दै धनुषा जिल्लामा सांस्कृतिक चेतनाको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउने मात्र होइन, लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार