मलंगवा – सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी – नयाँरोड सडकखण्डमा आईतबार बिहान टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका हुन्।
दुर्घटनामा घाईते हुनेमा ट्याक्टर चालक जिल्लाको बरहथवा नगरपालिका ४ निवासी अन्दाजी ३० बर्षिय अनिल महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ। बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ।

गिट्टी बोकेको ना १ अ या १५८ नम्बरको टिपरले बिपरित दिशाबाट उखु बोकेर आउँदै गरेको ज १ त ७२५२ नम्बरको ट्याक्टरलाई आज बिहान करीव ८ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक सर्लाहीको बसबरिया गाउँपालिका ३ निवासी सन्तोष कुमार सिंह सामान्य घाईते भएको र उनलाई उपचारका लागि उनका आफन्तले नै अस्पताल लगेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।





