चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न सकिदैन – मुख्यमन्त्री यादव

२०८२ पुष २८, सोमबार १९:५१
file image

सर्लाही – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे क्षेत्रलाई मधेसको जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको प्राकृतिक आधारका रूपमा चित्रण गरेका छन् । उनले चुरेलाई “मधेसको छाना” भन्दै यसको संरक्षण नभए मधेसको दिगो विकास असम्भव हुने बताएका हुन् ।

महोत्तरीको बर्दिबासमा आयोजित ‘चुरे तथा जैविक विविधता संरक्षण एवं उपयोगका लागि नीति निर्माण’ विषयक एकदिने कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले चुरे क्षेत्र मधेसको जल, माटो र वातावरणको मुख्य स्रोत भएको उल्लेख गरे । “चुरे बिना मधेसको जीवन रहँदैन,” उनले भने, “त्यसैले यसको दीर्घकालीन संरक्षण र वैज्ञानिक व्यवस्थापन आजको आवश्यकता हो ।”

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गतको विशिष्टीकृत अनुसन्धान केन्द्र, मधेस प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री यादवले चुरे संरक्षणका विषयमा विज्ञहरूले दिने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । उनले अनुसन्धानलाई कागजमै सीमित नराखी नीतिगत निर्णय र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

चुरे संरक्षणमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य अनिवार्य रहेको बताउँदै यादवले यसको समन्वयकारी नेतृत्व सङ्घीय सरकारले लिनुपर्ने धारणा राखे । कार्यशालामा चुरे र तराईबीचको अन्तरसम्बन्धबारे चुरेविज्ञ डा. विजयकुमार सिंहले कार्यपत्र प्रस्तुत गर्दै चुरे क्षेत्रको खुकुलो र संवेदनशील भू–स्वरूपका कारण यहाँ संरक्षण चुनौतीपूर्ण रहेको बताए ।

उनले प्रकृतिजन्य, मानवजन्य तथा नीतिगत समस्याले चुरे थप जोखिममा परेको उल्लेख गरे । त्यसैगरी डा. विनोद भट्टले ‘चुरे संरक्षणः नीति, व्यवहार र कार्यान्वयन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नीति र व्यवहारबीचको खाडल कम गर्नुपर्नेमा जोड दिए।

कार्यशालाबाट प्राप्त सुझावका आधारमा प्रदेश सरकारलाई नीतिगत मार्गनिर्देशन गरिने मधेस प्रदेशको विशिष्टीकृत अनुसन्धान केन्द्रका विज्ञ सदस्य डा. विद्यासागर वर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार