सर्लाही – सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साह घुस प्रकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।
न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार नगरप्रमुख साहलाई दोषी ठहर गरेको हो। अदालतले ऐनको दफा ३(१) बमोजिम एक लाख रुपैयाँ जरिवाना र दफा ३(ख) अनुसार छ महिना कैद सजाय सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ गते नगरपालिकाको कार्यालयमै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजना सम्पन्न भएपछि भुक्तानीका लागि चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस मागिएको र लिएको अख्तियारको आरोप थियो। सोही आरोपका आधारमा अख्तियारले गत साउन २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यसै प्रकरणमा, बयान फेरेको आरोपमा अख्तियारले उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि गत मङ्सिर २६ गते मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै जसोदा कुमारीलाई सफाइ दिएको छ।





