सर्लाही – सशस्त्र प्रहरी बल (एपीएफ) मा नायब महानिरीक्षक (डीआईजी) का ६ पद रिक्त भएपछि बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। मुख्यालयका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आज जनकपुर जाने कार्यक्रमका कारण प्रक्रिया एक–दुई दिन ढिलो हुन सक्नेछ।
डीआईजी पदमा बढुवाका लागि हाल १४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा देखिएको छ। डीआईजी कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले पाँच वर्षे पदावधि पूरा गरी बिहीबारदेखि अवकाश पाएसँगै ६ पद रिक्त भएका हुन्। तीमध्ये एक पद कानून निर्देशनालयतर्फ र पाँच पद प्रशासनतर्फ रहेका छन्।

कानून निर्देशनालयतर्फ एसएसपी युवराज अर्याल एक्लो उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। प्रशासनतर्फ भने १३ जना एसएसपीबीच पाँच पदका लागि कडा प्रतिस्पर्धा हुने भएको छ। बढुवाको दौडमा प्रबीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण ढुंगाना र शंकर खनाल रहेका छन्।
वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका प्रबीण कँडेल नेपाल प्रहरीबाट स्थानान्तरण भई सशस्त्र प्रहरीमा आएका अधिकृत हुन्। तर उनको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएकाले बढुवाको सम्भावना कम रहेको स्रोत बताउँछ। बाँकी १२ जना भने सशस्त्र प्रहरीको एसपीएस (सिंस)–२ ब्याचका अधिकृत हुन्। यसअघि सोही ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआईजीमा बढुवा भइसकेका छन्।
चुनावी सरकार रहेको वर्तमान अवस्थामा बढुवा प्रक्रिया वरिष्ठता, कार्यसम्पादन र निष्पक्ष मूल्यांकनका आधारमा अघि बढ्ने सम्भावना बलियो देखिएको छ। सशस्त्र प्रहरीभित्र यसलाई चासोका साथ हेरिएको छ।





