सर्लाही – ग्रामीण परिवेश, आर्थिक अभाव र पटक पटकको असफलताबीच पनि हार नमानेका सर्लाही धनकौल गाउँपालिका – १ का लिलाकान्त महतो अन्ततः बागमती प्रदेश लोकसेवा आयोगअन्तर्गत कृषि सेवा समूह, प्राविधिक सहायक (नायब सुब्बा सरह) पदमा खुला प्रतिस्पर्धाबाट सिफारिस हुन् सफल भए।
ग्रामीण परिवेश, आर्थिक अभावबीच हुर्किएका महतो निरन्तर संघर्ष, धैर्य र आत्मविश्वासको बलमा अन्ततः बागमती प्रदेश लोकसेवा आयोगअन्तर्गत कृषि सेवा समूह, प्राविधिक सहायक (नायब सुब्बा सरह) पदमा खुला प्रतिस्पर्धाबाट सिफारिस हुन सफल भएका हुन्।

महतोको लोकसेवा यात्रा सहज थिएन। गाउँमै पढाइ सुरु गरेका उनले भाषा, आत्मविश्वास र प्रतिस्पर्धात्मक परीक्षाको कठोरतासँगै जुध्नुपर्यो। पटक पटक परीक्षा दिँदा पनि अपेक्षित नतिजा नआउँदा निराशा स्वाभाविक थियो। तर उनले असफलतालाई अन्त्यका रूपमा होइन, सुधारको आधारका रूपमा लिए।
धेरै पढ्थे, परिक्षा पनि राम्रै हुन्थ्यो र अन्त्यमा नतिजामा बारम्बार बैकल्पिक सिफारिसमा मात्र पर्ने गरेका, उनी भन्छन्, “ तर हरेक परीक्षापछि किन बिग्रियो भन्ने समिक्षा गरें। सुधार अवश्य सम्भव छ भन्ने विश्वासले नै मलाई निरन्तरता, र अझ तयारीलाई जोड दिए।”
वि.सं. २०८० सालदेखि निरन्तर लोकसेवाको तयारीमा जुटेका महतोले यही क्रममा अस्थायी र वैकल्पिक सिफारिसको अनुभव बटुले। उनि २०८० सालमै केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत कृषि गणनाका लागि कृषि गणक पदमा अस्थायी सिफारिस भए, त्यसपछि मधेश प्रदेश कृषि प्रसार तथा बागवानी सेवामा प्राविधिक सहायक पदमा वैकल्पिकमा नाम आयो र त्यसपछि गण्डकी प्रदेश कृषि सेवाको सहायक स्तर पाँचौँ तहमा पनि वैकल्पिक सूचीमा समेत नाम आयो।
यी निरन्तरको असफलतामा पनि उनले धैर्य गर्दै तयारीलाई अझ मजबुत बनाउदै निरन्तर प्रयासपछि अन्ततः २०८२ सालमा बागमती प्रदेश लोकसेवा आयोग, कृषि सेवा, सहायक स्तर पाँचौँ तहमा २३ नम्बरमा सिफारिस हुन् सफल भए। तयारीका क्रममा सबैको सहयोग राम्रो रहेको उनि बताउछन्।
उनि लोकसेवालाई केवल रोजगारीका रूपमा मात्र परिभाषित गर्दैनन्। “लोकसेवा मेरो लागि जागिर होइन, यो बुवा आमाको सपना, दाजुको भरोसा र घरको भविष्य हो,” उनी भन्छन्। ग्रामीण परिवेशमा पढ्दै स्रोत, भाषा र आत्मविश्वासको सीमाभन्दा माथि उठ्न साथीहरूको सकारात्मक संगत, अनुशासन र निरन्तर अभ्यासले ठूलो भूमिका खेलेको उनी बताउँछन्।
“लोकसेवाले मलाई विषयवस्तु मात्र होइन, धैर्य, समयको कदर, आत्मविश्वास र देशप्रतिको जिम्मेवारी सिकायो,” उनको भनाइ छ। उनको सफलतामा परिवारको योगदान झनै महत्वपूर्ण देखिन्छ। लामो समयसम्म होस्टेल खर्च र तयारी शुल्क धान्दै ‘नाम निकालेरै फर्किनुपर्छ’ भन्ने परिवारको अटुट हौसला र विश्वासले आफूलाई कमजोर क्षणमा पनि अघि बढ्न प्रेरित गरेको महतोको अनुभव छ।
लिलाकान्त महतोको यो यात्रा व्यक्तिगत सफलतामा सीमित छैन। निरन्तर अभ्यास, आत्मसमिक्षा र आत्मविश्वासका साथ अघि बढे जुनसुकै कठिन परिस्थिति पनि पार गर्न सकिन्छ भन्ने सन्देश उनका अनुभवले लोकसेवाको तयारीमा जुटिरहेका हजारौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।





