भरततालबाट मोटरसाइकल चोरी गर्दै गरेका दुई जना युवक पक्राउ

२०८२ माघ २, शुक्रबार २०:०५

मलंगवा – सर्लाहीको बागमती नगरपालिका–१२ मा रहेको भरतताल क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने क्रममा दुई जना युवक प्रहरीको फन्दामा परेका छन्। पार्किङ स्थलमा राखिएको मोटरसाइकल तार काटेर लैजान खोज्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट परिचालित संयुक्त टोलीले बिहीबार साँझ विशेष निगरानीका क्रममा चोरी हुँदै गरेको मोटरसाइकलसहित दुई जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका – १५ बोरडाँडा टोल निवासी २२ वर्षीय श्यामलाल न्यासुर र सोही वडाको देउराली टोलका २३ वर्षीय मिम कुमार मोक्तान रहेका छन्।

प्रहरीका अनुसार हिँजो साँझ करिब ६ः४५ बजे भरतताल पार्किङमा राखिएको ना ४२ प ८०५६ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल चोरी गरी लैजान खोज्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

यस क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयबाट आएको गुनासो र सूचनाका आधारमा प्रहरीले निगरानी कडा पारेको थियो।

पक्राउ परेकाहरूको साथबाट चोरी गरिएको मोटरसाइकलसहित उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२–०४८ प १६५६ नम्बरको अर्को मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार