सर्लाही – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लामा उम्मेदवार टुंगो लगाएको छ। नेकपाले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवारको उम्मेदवार टुंगो लगाएको हो।
नेकपाले सर्लाही क्षेत्र नम्बर ३ बाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मैदानमा उतार्ने निर्णय गरेको छ भने क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव उम्मेदवार बन्ने भएका छन्। त्यस्तै, क्षेत्र नम्बर ४ मा शिवपुजन यादवका पुत्र अभनिश यादव र क्षेत्र नम्बर १ मा सुरेश काफ्लेको नाम चर्चामा छ।

यस निर्वाचनमा नारायणकाजी श्रेष्ठको उम्मेदवारीलाई विशेष अर्थका साथ हेरिएको छ। यसअघिका निर्वाचनहरूमा गोरखालाई राजनीतिक आधार बनाउँदै आएका श्रेष्ठ यस पटक मधेस प्रदेशबाट चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। २०७४ सालमा गोरखा क्षेत्र नम्बर २ बाट पराजित भएका उनी हाल राष्ट्रिय सभा सदस्यको भूमिकामा छन्।
सर्लाही क्षेत्र नम्बर २ मा भने फेरि एकपटक रोचक प्रतिस्पर्धा दोहोरिने संकेत देखिएको छ। यहाँ महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने हुने सम्भावना बलियो छ। २०७९ सालको निर्वाचनमा यादवले यही क्षेत्रबाट महतोलाई पराजित गरेका थिए, जसले यस क्षेत्रको चुनावी माहोल अझ चर्किने अनुमान गरिएको छ।





