सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्न लागेको छ । जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजेदेखि सुरु हुने सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले एउटै मञ्चबाट जनतालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा सहभागिताका लागि दुवै नेता आइतबार बेलुका नै जनकपुरधाम पुगेका छन् ।

रास्वपाका अनुसार सभामा लामिछाने र शाहसहित करिब १२ जना नेताले आफ्ना धारणा राख्नेछन् । साथै, पूर्व स्वतन्त्र सांसद अमरेश कुमार सिंहलगायत केही चर्चित राजनीतिक व्यक्तित्वहरू यसै सभामार्फत रास्वपामा प्रवेश गर्ने तयारीमा छन् ।
मधेश प्रदेशमा संगठनात्मक रूपमा अपेक्षाकृत कमजोर देखिएको रास्वपाले यही क्षेत्रबाट परिवर्तनको सशक्त सन्देश देशभर फैलाउने उद्देश्यसहित जनकपुरधामलाई कार्यक्रम स्थलको रूपमा रोजेको जनाएको छ ।





