राजेशमान सिंह, प्रदीप यादव र इस्तिहाक राईसहित जसपाका नेता एमाले प्रवेश

२०८२ माघ ५, सोमबार ०९:१३

सर्लाही – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

पूर्वमन्त्रीहरू प्रदीप यादव र मोहम्मद इस्तिहाक राईले पनि एमालेमा प्रवेश गरेका छन्। गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनीहरूले औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला संयोजक प्रभु हजाराका अनुसार अध्यक्ष ओलीले खादा ओढाएर सिंह, यादव र राईलगायत नेताहरूलाई पार्टी प्रवेश गराएका थिए। यादव र राई यसअघि अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए।

मेयर सिंहसँगै वीरगञ्ज महानगरपालिकाका सात जना वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन्। सिंह एमाले प्रवेश गरेपछि आज वीरगञ्जमा आयोजना हुने कार्यक्रममा जसपा तथा अन्य दलमा रहेका वडाअध्यक्षहरू ठूलो संख्यामा एमाले प्रवेश गर्ने तयारीमा रहेका छन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामै शीर्ष तहका नेताहरूले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्। प्रदीप यादवलाई पर्सा – १ बाट र मोहम्मद इस्तिहाक राईलाई बाँके – २ बाट एमालेको उम्मेदवार बनाउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार