मलंगवा – जेन्जी आन्दोलनका क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौँको जगन्नाथदेवल कारागारबाट फरार भएका ३८ वर्षका अमित भन्ने मिनबहादुर पौडेललाई जिल्लाको हरिवन नगरपालिका – ८ बेतालीस्थित आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गएराति नियन्त्रणमा लिइएको हो।

उनी गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा जगन्नाथदेवल कारागार काठमाडौँबाट भागी फरार भएका थिए। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिनबहादुर पौडेल कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय पाएका थिए। उनले यसअघि ८ वर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन्। पक्राउ परेको स्थान इलाका प्रहरी कार्यालय हरिवनबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्दछ।
नियन्त्रणमा लिइएका कैदीलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





