सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, आज मनोनयन दर्ता गर्दै

२०८२ माघ ६, मंगलवार ११:३२

सर्लाही – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ।

पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर – १ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर – २ बाट बिपिन कापर, क्षेत्र नम्बर – ३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर – ४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाएको छ।

जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छनोट गरिएको हो। उनले अनुभवी, स्थानीय समस्यासँग नजिक र संगठन विस्तारमा योगदान दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिइएको बताए।

आज चारै निर्वाचन क्षेत्रमा बाजागाजासहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जनमत पार्टीले सर्लाहीभर व्यापक चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ। मधेशको सम्मान, समान अधिकार र दिगो विकासका लागि आफू नै भरपर्दो राजनीतिक विकल्प भएको सन्देश जनतामाझ पुर्‍याउने पार्टीको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार